वचन बचत तथा ऋण सहकारी शाखा स्तरको उत्कृष्ट सहकारी घोषणा

काठमाडौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले काठमाडौंको वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई शाखा स्तरको उत्कृष्ट बचत र ऋण सहकारी घोषणा गरेको छ । बैंकले आफ्नो २१ औं वार्षिक साधारण सभाको अवसरमा यस्तो घोषणा गरेको हो ।

राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कार तथा सम्मानको घोषणा गर्ने गरेको थियो । तर यस वर्ष भने बैंकले साधारण सभाको अवसरमा पुरस्कार वितरण गरेको हो । उक्त कार्यक्रममा वचन सहकारीका प्रमुख कार्यकारी अधिकृत डा. देश मर्दन बस्न्यात, सचिव मनोहरी तिवारीको समेत उपस्थिती रहेको थियो ।

राष्ट्रिय सहकारी बैंकले यस वर्ष सातै प्रदेशमा प्रदेश स्तरीय पुरस्कार समेत वितरण गर्ने घोषणा गरेको छ । शाखा स्तरका पुरस्कारहरू शाखास्तरीय कार्यक्रमहरूमा वितरण गरिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले दिए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रमकाने उद्धाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा, बैंकका सल्लाहकार मिनराज कंडेल लगायतका प्रतिष्ठित अतिथिहरूको उपस्थिति रहेको थियो ।

निरन्तर १५ बर्षदेखी आफ्ना बचतकर्ता तथा ऋणीहरुको मन जित्दै आएको वचन सहकारीको कात्तिक मसान्त सम्मको तथ्यांक अनुसार हाल सहकारीको शेयर चुक्ता पुँजी ४ करोड २१ लाख रहेको छ । त्यस्तै, यस अवधिमा संस्थाको जगेडा कोषमा २ करोड ४४ लाख,अन्य कोषमा १ करोड ४ लाख रहेको छ ।